4 June 2025 · Nepal Bhoomi

घरजग्गा किनबेचमा बैंक स्टेटमेन्ट अनिवार्य, १० लाखभन्दा बढी नगद कारोबारमा प्रतिबन्ध र ३ करोडमाथिको कारोबारको जानकारी राष्ट्र बैंकलाई।
घरजग्गा कारोबारमा देखिएको अपारदर्शिता र कालो धनको प्रयोगलाई नियन्त्रण गर्न सरकारले नयाँ कडा नियमहरू लागू गरेको छ। सरकारको यस कदमको उद्देश्य देशलाई फाइनान्सियल एक्सन टास्क फोर्स (FATF) को ग्रे लिस्टबाट हटाउने तथा सम्पत्ति कारोबारमा पारदर्शिता बढाउने हो।
अबदेखि कुनै पनि घर वा जमिन किनबेच गर्दा खरिदकर्ता र बिक्रीकर्ताले आफ्नो बैंक स्टेटमेन्ट अनिवार्य रूपमा मालपोत कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागले जारी गरेको "सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन २०८२" अनुसार लिखत पारित गर्दा नै खरिद-बिक्री पक्षबाट बैंक स्टेटमेन्ट संलग्न गर्नुपर्नेछ। खरिदकर्ताले पठाएको रकम बिक्रीकर्ताको खातामा बैंकिङ माध्यमबाट पुगेको प्रमाणित हुनुपर्नेछ।
घरजग्गा कारोबारमा अबदेखि १० लाख रुपैयाँभन्दा बढीको नगद कारोबारमा पूर्ण प्रतिबन्ध लगाइएको छ। सबै प्रकारका लेनदेन अब बैंकिङ माध्यमबाट गर्नुपर्नेछ।
३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएमा सम्बन्धित मालपोत कार्यालयले अनिवार्य रूपमा नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाई (FIU) मा विवरण पठाउनुपर्नेछ।
खरिदकर्ता र बिक्रीकर्ताले Know Your Customer (KYC) फारम भरी प्रणालीमा अपलोड गर्नुपर्नेछ, जसमा नागरिकता, स्थायी ठेगाना, आम्दानीको स्रोतलगायतका विवरण स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ। (पछि यो KYC नियम हटाइएको छ।)
मालपोत कार्यालयका कर्मचारीले निर्देशनको उल्लंघन गरेमा कानुनी तथा प्रशासनिक कारबाही हुने व्यवस्था पनि गरिएको छ।
नेपाल हाल FATF को ग्रे लिस्टमा रहेको छ। यो सूचीबाट बाहिरिन सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत आवश्यक कानुनी र संस्थागत सुधार गर्ने प्रतिबद्धता जनाएको छ।
नेपाल भूमि घरजग्गा कारोबारमा पारदर्शिता र विश्वास कायम गर्दै आफ्ना ग्राहकहरूलाई सबै प्रकारका प्रक्रिया र नियमहरूबारे जानकारी गराउन प्रतिबद्ध छ। यदि तपाईं घर वा जग्गा किनबेच गर्ने सोचमा हुनुहुन्छ भने, नयाँ कानुनी व्यवस्थाअनुरूप हामी तपाईंको सम्पूर्ण प्रक्रिया सहज बनाइदिनेछौं।
Nepal Bhoomi Real Estate · Lazimpat, Kathmandu, Opposite Image Channel building · +977 9818783518 · info@nepalbhoomi.com